बरु मेरो प्राणै जाओस् तर माग पूरा नभएसम्म आन्दोलन तोडदनँ 

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १४ वर्षदेखि आन्दोलनरत गंगामाया अधिकारीले न्याय नपाएसम्म आफ्नो सत्याग्रह नटुट्ने बताएकी छन् ।

उनले पछिल्लो पटक जेठ १५ गते गणतन्त्र दिवसदेखि आमरण अनशन सुरु गरेकी थीन् । त्यसयता उनको स्वास्थ्यमा गिरावट आउन थालेको छ ।

छोरा मारिएको १४ वर्ष पुगेको दिन शुक्रबार वीर अस्पतालमा सञ्चारकर्मीसँग कुरा गर्दै गंगामायाले अन्तिम सास बाँकी रहेसम्म लडिरहने जिकिर गरेकी हुन् ।

गामायासँगै सत्याग्रहमा होमिएका उनका पति नन्दप्रसादको वीर अस्पतालमा २०७१ असोज ६ गते निधन भएको थियो । त्यसबेला गंगामायाको हालत पनि नाजुक थियो । बोल्न नसक्ने उनलाई मानव अधिकारवादी र चिकित्सकहरूले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झन्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर बचाएका थिए ।

‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबरजस्ती खुवाइयो,’ गंगामाया भन्छिन्, ‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुस् भनेर सान्त्वना दीरहे तर अब म हार खाइसकेँ, न्याय पाइने छाँट देखिनँ, त्यसैले अब अन्तिम उपाय प्रयोग गर्दै छु ।’
‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतीबारी थियो,’ छोराको हत्याअघि कहिल्यै काठमाडौंसमेत नाअेकी गोरखा फुजेलकी गंगामाया भन्छिन्, ‘तर अपराधीहरूले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बूढा मरे, भएको अर्काे छोरो मरेबाँचेको पत्तो छैन, म कसको मुख हेरेर बाँचौँ अब ?

‘जबसम्म मलाई न्याय दीँदैन, तबसम्म म खान्नँ,’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस् तर माग पूरा नभएसम्म आन्दोलन तोडदनँ ।’

अपहरणमा परी ०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला बितेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा राखिएको छ । आफ्ना जेठा छोरा नूरप्रसाद अधिकारी पनि चार वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनुपरेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.