कांग्रेसले सरकारले विभिन्न स्थानमा लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले विभिन्न स्थानमा लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने निर्णय गरेको छ ।

सरकारको यस्तो निर्णयले शान्तिपूर्ण रूपमा भेला भैइ विचार राख्ने जनाधिकार कुण्ठित भएको भन्दै कांग्रेस संसदीय दलले यस्तो निर्णय गरेको हो ।

पार्टी संसदीय दलले निर्णय लिएलगत्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा नेविसंघमा आबद्ध विद्यार्थीको समूहले माइतीघरस्थित मण्डला पुगेर निषेधाज्ञाको अवज्ञा गरेको छ ।

कांग्रेसको मंगलबार बसेको शीर्ष बैठकले पनि सरकारले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने निर्णय लिएको थियो । ‘संविधानप्रदत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गरेर सरकारले अधिनायकवाद लाद्न खोजेको छ,’ पौडेलले भने, ‘सरकारले तत्काल फिर्ता नलिए कांग्रेसले सडकबाट त्यसको अवज्ञा गर्नेछ ।’ कांग्रेसले महँगीको विरोधमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।

‘संसद्‌मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमश: हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ,’ कांग्रेसले भनेको छ ।

‘अविलम्ब निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता नलिए जनताका तर्फबाट कांग्रेसले निषेधाज्ञाको अवज्ञा गर्छ,’ दलको निर्णयमा उल्लेख छ ।

केसी र गंगामायाको अवस्था बुझ्न टोली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले जुम्लामा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। निर्णयअनुसार कांग्रेसको टोली बिहीबार जुम्ला प्रस्थान गर्नेछ।

बैठकले छोराका हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न टोली पठाउने निर्णय समेत गरेको छ। सोही निर्णयअनुसार बुधबार अपराह्न काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले वीर अस्पताल पुगी अधिकारीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिएको छ।

प्रतिनिधि टोलीमा काँग्रेसका प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा. अमरेश कुमार सिंह, प्रमिला राई, बिमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिता कुमारी चौधरी सहभागी थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.