अाज साउने संक्रान्ति ,यस्ताे छ साउने संक्रान्तिकाे महत्व

धर्म दर्शन फोटो फिचर

 

काठमाडौँ । अाज साउने संक्रान्ति, बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ।

ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ ।

यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गते बाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ ।

साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मानुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।

सुदुरपश्चिममा यसैदिनबाट ‘कालाे महिना’ लाग्याे भन्ने गरिन्छ र दैलाे वरिपरि झिझिरकाँडी लगाइन्छ भने अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताकाे विशेष पूजा, र निरन्तर दियाे बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियाे लुगा र चुरापाेते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ ।