बामदेब गौतम भए ‘ब्याक’ सांसद बन्ने सपना अधुरै

समाचार

काठमाण्डौ

चौतर्फि आलोचना भएपछिनेकपा नेता वामदेव गौतम काठमाडौं–७ को सम्भावित उपनिर्वाचनबाट पछि हटेका छन् । केन्द्रीय सचिवालय बैठकमा उनको उम्मेदवारीसम्बन्धी प्रस्ताव विचाराधीन रहेकै वेला गौतम ‘ब्याक’ हुने निष्कर्षमा पुगेका हुन् ।

पार्टीभित्र र सामाजिक सञ्जालमा लगातार गौतमको उम्मेदवारी तयारीबारे नकारात्मक प्रतिक्रिया अाउनेक्रम नरोकिएपछि पार्टीकै नेताहरू र शुभेच्छुकको सुझाबानुसार गौतम पछि हटेका हुन् । महासचिव विष्णु पौडेलसहित उनीनिकट नेता–कार्यकर्ताले गौतम उम्मेदवार बन्ने तयारीबाट पछि हटेको पुष्टि गरेका छन् ।

‘तपाईंहरूको सद्भावका लागि धन्यवाद । तर, अब काठमाडौं–७ बाट उम्मेदवार बन्ने च्याप्टर आजैबाट क्लोज्ड भयो,’ गौतमले त्यस क्षेत्रका प्रदेश सभा सदस्यहरूलाई टेलिफोनमार्फत भने, ‘मैले अहिलेको यी सबै सन्दर्भलाई सहज रूपमा लिएको छु ।’ उम्मेदवारीको विषयमा बिहीबार प्रदेश सभामा काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेला चलिरहेकै वेला गौतमले काठमाडौं–७ का प्रदेश सभा सदस्य वसन्त मानन्धरलाई एसएमएस गरेका थिए, ‘म उपचुनावमा उम्मेदवार बन्दिनँ, तपाईंहरूले रामवीर मानन्धरलाई सम्झाइदिनुहोला ।’ बैठक चलिरहेकै वेला वसन्तले सबैलाई जानकारी गराएका थिए ।

आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए। तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन्।

पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्र्कषमा पुगेका हुन्। गौतम निकट स्रोत भन्छ, ‘पार्टीभित्रै घेराबन्दी हुने देखेपछि उहाँ पछि हट्ने मनस्थितिमा पुग्नुभएको हो।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेताहरू घनश्याम भुषाललगायतसँगको परामर्शपछि गौतम चुनावबाट पछि हटने मनस्थितिमा पुगेको स्रोतले दाबी गरेको छ। ‘सांसद मानन्धरको राजीनामा दिने कुरा प्रक्रियागत रूपमा मिलेन, परिस्थिति पनि बढीनै नकारात्मक ढंगबाट अगाडि बढिदियो, यस्तो बेला उहाँका लागि सहजता हुन सक्दैन भन्ने सझुाव आयो’, गौतम निकट ति नेताले भने। महासचिव विष्णु पौडेलले गौतमलाई भेटेर अवस्था अनुकुल नरहेकोले उपचुनाव लडने कुरामै पुनर्विचार गर्न सुझाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले सिट गुम्ने अवस्थामा पार्टीले उपचुनावको निर्णय नलिने बताइसकेका छन्।

सोमबार सचिवालय बैठकमा गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने प्रस्तावले प्रवेश पाएलगत्तै मिडिया र सामाजिक सञ्जालमा वामदेव र नेकपाको चर्को आलोचना भयो । बर्दियामा पराजित भैसकेका गौतमलाई सांसद बनाउन काठमाडौंका निर्वाचित प्रतिनिधिलाई राजीनामा गराउनु जनमतकै अपमान हुने भन्दै विरोधको क्रम बढ्दै गयो । जसले गर्दा पनि उनी पछि हट्न बाध्य भए ।