रा.प्र.पा का नेता,पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई शङ्कर लामिछाने प्रतिष्ठान द्वारा अभिनन्दन

फोटो फिचर समाचार साहित्य

आज भएको एेउटा कार्यक्रम मा, विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ। निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गर्नुभयो ।

सो अवसरमा पूर्व प्रम चन्दले साहित्यले जनतामा जागरण ल्याउने उल्लेख गर्दै त्यसबाट समाजमा रहेको विकृति तथा विसङ्गती हटाउन सहयोगी हुने बताउनुभयो । उहाँले निबन्धकार लामिछानेका निबन्धमा मानिसको पीडा झल्केको हुन्छ भन्दै समाजमा भएका खराब कुरा त्याग्ने र असल कुरा ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाका निबन्ध अनुशरण गर्ने लामिछानेले निबन्धमार्फत जीवन हेर्ने नयाँ दृष्टि र चिन्तन प्रकट भएको पाइएको बताउनुभयो ।

वरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारले साहित्य तथा निबन्धबाट समाजमा सकारात्मक सञ्चार सम्प्रेषण गर्न साहित्यको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । युवा निबन्धकार मोमिला जोशीले आफूलाई शङ्कर लामिछानेको निबन्धबाट साहित्य क्षेत्रमा आउन प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

कुलपति उप्रेतीले वरिष्ठ निबन्धकार राजकर्णिकारलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार तथा जोशीलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार वितरण गर्नुभयो । सो पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *