नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

राजनीति समाचार

काठमाडौं

सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन्। नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन्। शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिएका थिए।

२४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उनले निर्देशन दिए। तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेलगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सारेका हुन्।

असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए। सांसद सुरेन्द्र पाण्डेले छलफल गर्न नपाइने हो भने किन बैठक बोलाएको भन्ने प्रश्न गरेका थिए।

सांसद रामकुमारी झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर व्हीप जारी गर्न नपाइने भन्दै असन्तुष्टि जनाइन्। उनले प्रश्न गर्दै भनिन्,‘मेरो सरकार केका लागि यो भाषा प्रयोग गरियो ?

आज दुई जना नेताको निर्देशन मात्रै होइन, हाम्रा कुरा पनि सुनिनुपर्छ ।’ सांसदहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उठाएको विषय जायज भएको र गत वर्षको नीति तथा कार्यक्रममा भएको कतिपय विषयहरु सच्याएर ल्याएको दाबी गरे।

‘हामीले हेर्दासम्म मेरो सरकार भन्ने थिएन, कसरी आयो थाहा भएन, प्रधानमन्त्रीजीलाई थाहा होला’, उनले भने।

अन्तिमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम गलत भन्ने आधार नै नभएको बताए।

सरकारले ल्याएको नीति तथा कर्यक्रमको पक्षमा उभिन सांसदहरुलाई निर्देशन दिदै भने,‘कसैले औला ठड्याउन ठाउँ छैन, मेरो सरकार’ भन्नु अन्तराष्ट्रिय अभ्यास हो यसमा बहस गर्न आवश्यक छैन।’ नेपाल समाचारपत्र दैनिक