शेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट

अर्थ

काठमान्डौ

शेयर बजार आइतबार दोहोरो अंकले तल झरेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो यात्रामा लागेको थियो । बजार बन्द हुँदासम्ममा बजार परिसुचक नेप्से १६.७१ अंकले घटेर १२७७.६८ अंकमा ओर्लिएको छ ।

१७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु ६५ करोड ३ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकममा फराकिलो अन्तरले गिरावट आएको हो ।

वाणिज्य बैंक समुहमा आएको १६.०२ अंकको गिरावट नै बजार ओरालो लाग्नुको मुख्य कारक बनेको छ । जीवन बीमा समुहमा १२७.०२ अंकको गिरावट आएको बजारमा जलविद्युतमा ५३.८८, लघुवित्तमा २५.८७, निर्जीवन बीमामा २४.७३, होडलमा १९.६१, विकास बैंकमा १७.४४ र वित्त समुहमा २.४ अंकको गिरावट आएको छ ।

उत्पादन समुहमा २०.८ अंकको सुधार आएको बजारमा अन्य समुह १.१२ अंकले उकालो लागेको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले घटेर २७३.९६ अंकमा ओर्लिएको छ ।

आइतबार वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ । अधिक शेयर कारोबार हुने शिर्ष १० कम्पनीको सूचीमा ८ वाणिज्य बैंक परेका छन् ।

मल्टिपर्पोज फाइनान्स, युनाइटेड फाइनान्स, शिवम सिमेन्ट लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा चिलिमे हाइड्रो, अरुण भ्याल्ली हाइड्रो, एभरेष्ट इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।