काँग्रेसले ‘काँग्रेस मेला’ आयोजना गर्दै

राजनीति समाचार

ललितपुर

नेपाली काँग्रेसले वैशाख २५ देखि सुरुहुने ‘राष्ट्रिय जागरण’ लाई प्रभावकारी बनाउन सातै प्रदेशमा जनप्रतिनिधिलाई प्रशिक्षण र ‘काँग्रेस मेला’ आयोजना गर्ने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै सो खाका बाहिर ल्याएको हो।

मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्बिर, ऐतिहासिक तस्बिर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन् । मेला काँग्रेसजनका लागि उत्सव मेलाजस्तै हुने पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बताउनुभयो ।

संयोजक निधिले कांग्रेसद्वारा घोषित राष्ट्रिय जागरण कार्यक्रमलाई पूर्णरूपमा सफल पार्न र यसकालागि सहयोग पुग्नेगरी प्रतिष्ठानका कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गर्न लागेको बताउनुभयो ।

प्रतिष्ठानका अनुसार, संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका काँग्रेसका सांसद्का लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्नेछ ।

सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने जानकारी पनि संयोजक निधिले दिनुभयो ।

यसैगरी, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने गराउने, विदेशस्थित जनसम्पर्क समितिहरूमा आवद्ध व्यक्तिलाई प्रशिक्षणको कार्यक्रम आयोजना गरिने बताइेको छ ।

प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस मेला’ को आयोजना गर्ने तथा समसामयिक राष्ट्रिय विषयमा विचार–गोष्ठी, छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले दिनुभयो ।

कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *