नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित

समाचार स्वास्थ्य

काठमाडौं 

नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ ।

यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ । नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ ।

बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ । क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ ।

क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ । मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ ।

सुरुकै चरणमा क्यान्सर पत्ता लागेमा निको हुने र अन्तिम चरणमा क्यान्सर हो भनेर पहिचान भएमा प्रभावितलाई बचाउन मुस्किल हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीले क्यान्सर एक प्रकारको घाउ भएको भन्दै लामो समयसम्म घाउ देखिए तुरुन्त नजिकको अस्पतालमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने बताए ।

उनले भने, ‘क्यान्सरको उपचार हुन्छ तर प्रारम्भिक अवस्थामा अस्पताल पुग्नुपर्छ ।’ उनले चुरोट सेवन नगर्ने हो भने मात्रै क्यान्सर लाग्ने बिरामीको संख्या अत्यधिक घट्ने बताए । काउन्सिलका अनुसार क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।राजधानि दैनिक

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सरको अन्तिम स्टेजमा बिरामी अस्पताल पुग्ने गरेको बताए । उनले भने, ‘हामीले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौं । सबैभन्दा मुख्य कुरा त जनचेतना फैल्याउनु नै हो ।’

नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकले आफ्ना बालबालिकाबारे उचित ध्यान दिनुपर्ने कडरियाले बताए । तथ्यांकानुसार नेपालमा झन्डै ५० जना क्यान्सर रोग विशेषज्ञ डाक्टर कार्यरत छन् ।

क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके मात्रै क्यान्सर रोगीको संख्या घट्ने बताए । उनले भने, ‘क्यान्सर हुनेको संख्या बढ्दै गएको छ । यसका लागि खानपान, जीवनशैलीलाई परिवर्तन गर्न जरुरी छ । हरियो सागसब्जी खानुपर्छ ।’

नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विजेशराज घिमिरेका अनुसार शरीरको टाउकोदेखि खुट्टासम्म क्यान्सर हुन्छ । उनले भने, ‘४० वर्षमाथिका व्यक्तिलाई बढी मात्रामा क्यान्सर देखिने गर्छ । सहरीकरण, धुम्रपान, खानपानले क्यान्सर हुन सक्छ, जीवनशैलीलाई सरल बनाउनुपर्छ ।’