म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा उपाधि जोगायो

खेलकुद

लन्डन 

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले आइतबार राति खेलिएको आफ्नो अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ब्राइटनलाई उसैको मैदानमा ४—१ गोलले हरायो । उक्त जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि जोगाउन सफल भयो ।

म्यानचेस्टर सिटी सन् २००९ पछि लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली हो । उपाधि जोगाउन म्यानचेस्टर सिटीले अन्तिम खेल जित्नै पर्ने दबाब थियो । उपाधिको होडमा रहेको लिभरपुलले पनि अन्तिम खेलमा जित हात पा¥यो । तर, म्यानचेस्टर सिटीको जितसँगै लिभरपुलको उपाधि सपना चकनाचुर बन्न पुग्यो ।लिभरपुलले आफ्नो अन्तिम खेलमा घरेलु मैदानको फाइदा उठाउँदै उल्भरह्याम्पटनलाई २—० गोलले हरायो ।

खेल सुरु भएको २७ौं मिनेटमा पहिलो गोल खाएको म्यानचेस्टर सिटीले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । ब्राइटनका लागि ग्लेन मुरेले पहिलो गोल गरेका थिए । म्यानचेस्टर सिटीका लागि २८ औ मिनेटमा सर्जियो एग्वेरोले जवाफी गोल गरे ।

३८ औ मिनेटमा आयमेरिक लापोर्टले म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए । ६३ औ मिनेटमा रियाद माहरेजले तेस्रो गोल गरे भने ७२ औ मिनेटमा ईकी गुन्डोगनले चौथो गोल थपेका थिए । अर्को खेलमा लिभरपुलका लागि भने दुवै गोल साडियो मानेले गरेका थिए ।

अन्तिम चरणको खेलको समाप्तिपछि म्यानचेस्टर सिटी (९८ अंक) पहिलो, लिभरपुल (९७ अंक) दोस्रो, चेल्सी (७२ अंक) तेस्रो र टोट्टनहाम (७१ अंक) चौथो हुँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भए ।

पाँचौं भएको आर्सनल (७० अंक) र छैटौं भएको म्यानचेस्टर युनाइटेड (६६ अंक) भने आगामी सिजनको युरोपा लिगका लागि छनोट भए । कार्डिफ सिटी, फुलहाम र हडर्सफिल्ड टाउन रेलिगेसनमा परेर तल्लो डिभिजनमा घटुवा भए ।