प्रधानमन्त्रीले सेना हातमा लिएर निरंकुशता लाद्न खोजेको देउवाको आरोप

राजनीति समाचार

गोरखा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सेना हातमा लिएर निरंकुशता लाद्न लागेको आरोप लगाएका छन् ।

देउवाले सुरक्षा परिषदको निर्णयबाट मात्रै सेना परिचालित हुने स्थापित मान्यता र लोकतान्त्रिक बिधिविपरित प्रधानमन्त्री ओलीले सेनालाई प्रधानमन्त्री कार्यालय मातहत राखेको भन्दै तिब्र असन्तुष्टी व्यक्त गरे । उनले ओलीको सरकारले निरंकशुता लाद्ने दुष्प्रयास गरेको आरोप लगाए ।

नेपाली कांग्रेस गोरखा नगर समितिको आइतबार आयोजित सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता देउवाले भने, ‘प्रधानमन्त्रीले मानव अधिकार, नागरिक अधिकार सबै खोसेर निरङ्कुशता लाद्ने तयारी गरिरहेका छन् ।’

देउवाले प्रेस काउन्सिल तथा गुठी विधेयक मानव अधिकार हनन गर्ने विधेयक लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै यसकाविरुद्ध सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए ।