विश्वकप क्रिकेट : च्याम्पियन अस्ट्रेलियासंग भिड्दै पाकिस्तान

खेलकुद

एजेन्सी 

इंग्ल्याण्डमा जारी विश्वकप अन्तर्गत आज एक खेल हुदैंछ। नेपाली समयानुसार दिउसो ३ः१५ मा सुरु हुने खेलमा च्याम्पियन टिम अस्ट्रेलियासँग पाकिस्तान भिड्दैछ।

टौन्टनको कुपर एसोसियट्स काउण्टी ग्राउण्डमा हुने खेलमा अस्ट्रेलियालाई रोक्ने दाउमा पाकिस्तान मैदानमा उत्रनेछ भने जितका साथ अगाडी बढ्ने लक्ष्यमा अस्ट्रेलिया हुनेछ। जारी विश्वकपमा दुवै टोलीले ३÷३ खेल खेलिसकेका छन्। जसमध्ये अस्ट्रेलियाले २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ।

अस्ट्रेलियाले अफ्गानिस्तान र वेस्ट इण्डिजलाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो। यस्तै ३ खेल खेलेको पाकिस्तानले १ खेल जितेको छ भने १ खेल हारेको छ। बाँकी १ खेलमा वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो।

यी दुई टोली बिच भएको पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने अस्ट्रेलिया बलियो देखिएको छ। पाँच खेलमा पाकिस्तानले अस्ट्रलियालाई कुनै पनि खेलमा पराजित गर्न सकेको छैन्।

आज हुने खेलमा सोही पराजयको सिलसिला तोड्ने दाउका साथ पाकिस्तान मैदानमा उत्रनेछ। जारी विश्वकपमा अस्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा रहेको छ भने पाकिस्तान आठौं स्थानमा रहको छ।

आज अस्ट्रेलियाका खेलाडी मार्कस स्टोयनिस चोटका कारण खेल्ने छैनन। पाकिस्तानको टिममा भने त्यस्तो समस्या देखिएको छैन्।