कञ्चनपुरमा फेरी हावाहुरी,कयौ घाइते

समाचार

कञ्चनपुर

कञ्चनपुरमा बुधबार आएको हावाहुरीले फेरी वितण्डा मच्चाएको छ । गत बिहीबार आएको हावाहुरीपछि फेरी बुधबार बिहान आएको हावाहुरीले कञ्चनपुरको ग्रामीण भेगमा बढि क्षति पुर्‍याएको छ ।

बिहान साढे ६ बजेतिर आएको हावाहुरीमा परी सात जना घाइते भएका छन् । २३ घरमा क्षति पुगेको छ । घाइते हुनेमा महाकाली नगरपालिका ६ दोधाराकी ६० वर्षीया फुलादेवी डाहा, ४५ वर्षीय बल बहादुर थापामगर, ३० वर्षीया कमला थापा, महाकाली नगरपालिका ५ की ४८ वर्षीया हिमादेवी मगर, भीमदत्त नगरपालिका १९ बाफाँटाकी १५ वर्षीया मिना भण्डारी, बेलडाँडी गाउँपालिका–५ की लक्ष्मी उपाध्याय र पार्वती बुढा रहेका छन् ।

दोधाराकी वृद्ध फुलादेवीको घर भत्किएर थिच्दा उनको ढाड भाँचिएको छ । उनलारि उपचारकाे लागि सिमावर्ती भारतीय अस्पताल लगिएकाे छ । अन्य घाइतेको महाकाली, दोधारा र बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीका अनुसार सबैभन्दा बढि क्षति महाकाली नगरपालिका ६ दोधारा धामीटोलमा पुगेको छ । उक्त ठाउँको १० घरमा पुर्णरुपमा क्षति भएको छ, भने बाँकी घरमा अंशिक क्षति भएको छ ।

बेलौरी नगरपालिकाले हावाहुरी पीडितका लागि त्रिपाल, आशिक क्षतिलाई १५ सय र पुर्ण क्षतिलाई ३५ सय दिने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाले एक करोडको विपद् कोष खडागर्ने निर्णय गरेको छ । बेदकोट नगरपालिकाले घाइतेलाई जनही १० हजारका दरले राहत प्रदान गरेको छ ।