जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : प्रचण्ड

समाचार

चितवन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

माडी नगरपालिकाको तेस्रो नगरसभामा आयोजित कार्यक्रममा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए । अहिले तीनै तहको समन्वय गर्ने काम भैरहेको उनको भनाइ थियो ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनिपछि समस्या समाधान हुने भन्दै उनले अहिलेको परिवर्तन गुणात्मक भएको बताए । उनले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको बताए ।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै उनले भने, ‘पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नाअे नयाँ संरचनाले काम गर्न सकिँदैन ।’

माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए । माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताउँदै उनले भने, ‘निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुु नभै जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइेको थियो, अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भैरहेको छ ।ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भैरहेको छ ।’

अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको बताए । सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाँको उद्यान निर्माणको तयारी थालेको उनले बताए ।

उनले भने, ‘द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।’आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्नसमेत आग्रह गरे ।

माडी नगरपालिकाले आर्थिक वर्ष २०७६७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमा चालुतर्फ १९ करोड ५० लाख रुपैयाँ र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले बताए। रासस