क्लिन फिड विवाद चर्किदा बिदेशि च्यानल बन्द

समाचार

काठमाडौं-  प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएको हो ।

विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिले सरकारको प्रस्तावित विज्ञापन विधेयकानुसार विदेशी च्यानलमा क्लिन फिड लागू भए आफ्नो व्यवसाय धराशायी हुने भन्दै सोमबार दिउँसोदेखि मंगलबार दिउँसो ३ बजेसम्म भारतीय तथा अन्य विदेशी च्यानल बन्द गरेका हुन्।

नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।

खास गरि भारतीय च्यानलहरु नेपालमा हेर्ने गरिन्छ । तर, ती च्यानलमा प्रशारण हुने व्यापारिक विज्ञापनबाट नेपाल सरकार तथा नेपाली मिडिया उद्योगलाई कुनै फाइदा नहुने र नेपालले पाउनुपर्ने आर्थिक लाभ पनि भारतीय टेलिभिजन च्यानलले लिएपछि सरकारले क्लिन फिड लागु गर्ने तयारी थालेको हो ।