ओलीले संसदीय दलमा भने– दाहाललाई धेरै विश्वास गरें

राजनीति समाचार

काठमाडौं 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरूले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो।

२०७५ जेठ २ मा भएको सहमतिपत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।

त्यही विषय दाहालले टेलिभिजन अन्तर्वार्ताका कोट्याएका थिए। पार्टी एकताको अघिल्लो दिन नेताहरू विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली र पुष्पकमल दाहालले ५ बुँदे सहमति गरेका थिए।

पछिल्लो चरण पार्टी कार्यदिशामा समेत दुई अध्यक्षमा मतभेद देखिएपछि एकताका क्रममा भएका सहमति, प्रक्रियामा देखिएको अवरोध, सरकारका काम, बजेट र विधेयक निर्माणमा सांसदहरूले प्रश्न उठाएका हुन्।

दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेर लगेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए।

‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपारिं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें। त्यसमा उहाँले हस्ताक्षर गर्नुभएको हो,’ दाहालले बैठकमा भने, ‘मैले आफ्ना कुरा राख्ने क्रममा पार्टी एकतालाई नै अर्को अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको रहेछु भने बोली फिर्ता लिन चाहन्छु।’

ओलीले भने पार्टीको हित र बलियो कम्युनिस्ट पार्टी निर्माणको सर्तमा आफूले पनि हस्ताक्षर गरिदिएको धारणा राखेको बैठकमा सहभागी नेकपाका एक सांसदले बताए। ओलीले अहिले दुई अध्यक्षबीच निरन्तर संवाद चलिरहेकाले यस विषयमा अनेक तर्कना गरिरहन आवश्यक नभएको प्रतिक्रिया दिएका थिए।

‘हामीले एकार्कालाई विश्वास गरेर सहमतिपत्र लेख्ने र हस्ताक्षर गर्ने काम भएको हो,’ दाहालले बैठकमा भने, ‘म आफैं अबको प्रधानमन्त्री केपी कमरेड भनेर चुनावमा गएको थिएँ।’

ओलीले पार्टी एकता मुख्य कुरा र अन्य सहायक विषय भएको भन्दै थप टिप्पणी गर्न चाहेनन्। ‘हामी एकताबद्ध भएर अगाडि जानुपर्छ, विभाजित अभिव्यक्ति कोही कसैका पनि अौनु हुँदैन। हामीलाई इतिहासले सुम्पेको अवसरलाई सदुपयोग गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

दाहालले भने तत्कालीन पार्टीका दुवै नेताकार्यकर्ता एकै डुंगामा सवार रहेकाले डुब्दा सबै डुब्ने भएकाले सचेत बन्नुपर्ने बताएका थिए। ओली–दाहाल दुवैले पछिल्ला दुई दिनयता आफूहरू निरन्तर छलफलमा रहेको र यही महिनाको अन्त्यसम्म पार्टी एकताको काम सम्पूर्ण रूपमा टुंग्याउने बताएका थिए। ‘विश्वास गर्नुहोस्, अब हामी यही महिनाको अन्तिमसम्म पार्टी एकताका सम्पूर्ण कामको छिनोफानो लगाउँछौं,’ प्रधानमन्त्री ओलीले भने।अन्नपुर्ण पोस्टबाट