विश्वकप क्रिकेट : भारतलाई हराउदै न्युजिल्यान्ड फाईनलमा

खेलकुद

लन्डन 

न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपान्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले खराव सुरुवात गर्दै ४९.३ ओभरमा दुई सय २१ रन मात्र बनाउन सक्यो।

भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो ।

सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र कील राहुल समान १–१ रनमा आउट भए । १.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट  हुदा भारतको पाँच रन थियो ।

त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यसअघि न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन्। मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पारी अगाडि बढाए। उनीहरुले ६५ रनको साझेदारी गरेका थिए। विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले। उनले ९५ बलमा ६ चौका हिर्काए।बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए ।