विश्वकप क्रिकेट दोस्रो सेमिफाइनल : आज अस्ट्रेलिया भर्सेस इंग्ल्याण्ड

खेलकुद

एजेन्सी 

विश्वकप क्रिकेट अन्तर्गत आज दोस्रो सेमिफाईनल खेल हुँदैछ। नेपाली समयानुसार दिउसो ३ः१५ मा सुरु हुने सेमिफाइनल खेलमा दुई बलिया टोली अस्ट्रेलिया र आयोजक इंग्ल्याण्ड आमने सामने हुदैछन्। बर्मिंघमस्थित एजबस्टन मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

जारी विश्वकपमा अस्ट्रेलिया अंक तालिकाको दोस्रो तथा इंग्ल्याण्ड तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए। अस्ट्रेलियाले ९ खेलमध्ये ७ खेलमा जित निकालेको थियो भने २ खेलमा पराजित भएको थियो। यस्तै इंग्ल्याण्डले ६ खेलमा जित तथा ३ खेलमा हार बेहारेको थियो।

जारी विश्वकपमा यी दुवै टोलीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। तर आज हुने खेलमा एक टोली पराजित भएर बाहिरिनुपर्ने हुन्छ। पाचौं पटकको उपाधि विजेता अस्ट्रलियाले आज जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ।

अस्ट्रेलियाले लिग चरणको खेलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो र आज पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ। तर अस्ट्रेलियालाई जित निकाल्न त्यति सहज भने हुनेछैन।

यस्तै इंग्ल्याण्ड पनि आज अस्ट्रेलियासँग लीग चरणको हारको बदला लिने दाउमा हुनेछ। यी दुवै टोली विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएका छन्। विश्वकप क्रिकेटमा यी दुई टोली आठ पटक आमने सामने भएका छन्। जसमा अस्ट्रेलिया सफल देखिएको छ। ८ खेलमा अस्ट्रेलियाले ६ जित निकालेको छ भने इंग्ल्याण्ड दुई जित हात पारेको छ। जारी विश्वकपको लीग चरणमा पनि अस्ट्रलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको थियो।

क्रिकेटको जन्मथलो भनेर चिनिने इंग्ल्याण्डले हालसम्म उपाधि हात पार्न सकेको छैन्। इंग्ल्याण्ड ३ पटकसम्म विश्वपकको फाइनलमा पुगेर पराजित भएको छ। तर सन् १९९२ देखि अहिलेसम्म इंग्ल्याण्ड फाइनलमा पुग्न सकेको छैन।

आज हुने दोस्रोे सेमिफाइनल खेलको विजेताले फाइनलमा उपाधिकालागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। न्युजिल्याण्ड बुधबार भएको खेलमा भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।