टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट : नेपालले दियो कतारलाई १२३ रनको लक्ष्य

खेलकुद

काठमाडौं 

टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो ।

ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर ५.६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो ।

दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उकास्न खोजेका थिए । उनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।