टी-२० विश्वकप छनोट : कतारसँग नेपालको हार,विश्वकप यात्रा कठिन

खेलकुद

काठमाडौं 

सिंगापुरमा आयोजना भैरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले हारबाट सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटको हार व्यहोर्‍यो । प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपालको खराब ब्याटिङ नै हार को मुख्य कारण रह्यो ।

ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो ।

नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्‍यो । कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए ।

पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । उनीहरु आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो तर  मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।

नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।