दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या

अन्तर्राष्ट्रिय

दिल्ली

बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। भारतको पूर्वी दिल्लीको सक्‍कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ।

उनको घर बाजुराको बुढिगंगा नगरपालिका- १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थीइन्। शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूतबासमा कार्यरत एसएसपी प्रकाश अधिकारले जानकारी दिएका छन्।

बालिकाको हत्या गरेको आरोपमा सोनु नाम गरेका भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका आरोपित सोनुले आफुँले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । तर हत्या अगावै बालिकाको बलात्कार भएको परिवारको आशंका भएपनि पुष्टी हुन भने बाँकी छ । आरोपित सोनु बालिकाका बाबु-आमाले काम गर्ने होस्टेलमा सँगै काम गर्ने कर्मचारी हुन्।

शुक्रबार दिउँसो पौन १ बजे बुवा बाहिरबाट कोठामा आउदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए।

मृत बालिकाको पोस्टमार्टमपछि आइतबार निगम बोध घाटमा दाहसंस्कार गरिसकिएको छ । तर, अस्पतालबाट पोस्टमार्टम रिर्पोट भने अझैसम्म आएको छैन।