नेकपा सचिवालय बैठक बिना कुनै निर्णय स्थगित

राजनीति समाचार

काठमाडौ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि साउन २९ गते बस्ने बैठकमा पेस गर्ने र त्यसमा छलफल गर्ने भनेर बैठक स्थगित भएको छ ।’

स्कूल विभागमा मात्र किन विवाद देखिएको छ भनि पत्रकारको जिज्ञासमा उनले विभागहरुमा कार्यविभाजनको विषयमा छलफल चलिरहेको छ, कुनै सहमति भएको नभएको बेला एउटा स्कूल विभागमा मात्र कुरा मिलेको छैन भनि भन्न नमिल्ने प्रतिकृया दिए।

अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरी विभिन्न ३२ वटा विभाग, आयोग, समिति र प्रतिष्ठानका लागि गृहकार्य गरी यस अघि बसेको सचिवालयको बैठकमा पेस गर्नुभएको थियो ।

तर स्कूल विभागमा कुरा नमिलेपछि कार्यविभाजनको टुगों लागेको थिएन । स्कूल विभागका लागि नारायाणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दावी गर्दै आएका छन ।स्कुल विभागबारे सहमति जुटाउन नेताहरुबीच पटकपटक छलफल भए पनि कुरा मिलेको छैन ।