रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

समाचार

काठमाडौं 

पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइेको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो।

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछाने बिहीबार साँझ काठमााडौंबाट पक्राउ परेका हुन् । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको थियो ।