रवि लामिछानेको बयान सोमबार, बयानका क्रममा अस्मिताको यस्तो जिकिर

समाचार

चितवन 

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग सोमबार मात्र बयान लिने भएको छ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो। सुरुमा अस्मिताको बयान लीएको छ।

‘आइतबार अस्मितासँग बयान लीएको छ’, श्रेस्तेदार गिरीले भने, ‘रवि लामिछाने र युवरा कँडेलको बयान समय अभावले आज हुन सकेन।’ उनका अनुसार उनीहरुको बयान सोमबार हुनेछ। बयानपछि थुनछेक बहस हुनेछ।

बयानका क्रममा अस्मिताले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् ।

अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र अस्मिताविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो।

प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। बयान सकिएपछि थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।