कांग्रेसको दोस्रो चरणको जागरण अभियान आजबाट

राजनीति समाचार

काठमाडौं 

नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ ।

कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उनले बताए ।

जागरण अभियानका लागि काँग्रेसले यसाघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन् । प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइेको प्रवक्ता शर्माले  बताए।

जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भैइ चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित क्षेत्रका अग्रज, शहीद परिवार, द्वन्द्वकालीन घाइते एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र काँग्रेसका लागि सुझाव लिने स्वरूप तय गरिएको  बताए।

अभियानको अन्तिम दिन ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने तय गरिएको छ । नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङघलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइेको छ ।

काँग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा दैनिक औसत तीन सय युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने दाबी गरेको छ ।