साफ यू–१८ फुटबल : नेपाल र माल्दिभ्सको खेल बराबरी

खेलकुद

काठमाडौं 

१८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । गत वर्षको विजेता टिम नेपाल शुक्रबार काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो ।

१३ औं मिनेटमा गोल खाएर पछि परेको नेपालले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।मनिष डाँगीले उत्कृष्ट हेड गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

समूह ‘ए’ मा रहेको साविक विजेता नेपालले हलचोक मैदानमा सुरुमै गोल खान पुगेको थियो। १३ औं मिनेटमा पेनाल्टीमार्फत माल्दिभ्सले गोल गरेको हो। रोशन दोङले बक्सभित्र माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि पाएको पेनाल्टीलाई नजिम आफैंले सदुपयोग गरेका थिए।

समूह ‘ए’मा नेपाल र माल्दिभ्ससँगै भुटान पनि छ। नेपालले भुटानसँग अैतबार प्रतिस्पर्धा गर्नेछ।१८ वर्षमुनिको साफ च्याम्पियनसिप लगातार दुई पटक जितेको नेपालको लक्ष्य यस वर्ष पनि उपाधि जित्ने हो ।