अब युरो–६ पेट्रोल पाइने

अर्थ

काठमाडौँ

नेपालमा युरो–६ पेट्रोल बिक्री गरिने भएको छ । भारतमा आगामी अप्रिल (चैत)देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुने नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट युरो–४ विस्थापित भएपछि नेपालले युरो–४ खरिद गर्न नसक्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । निगमले नेपालमा उच्च गुणस्तरको युरो–६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ ।

हालसम्म युरो–४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक (बल्क कस्टमर)का लागि युरो–६ पेट्रोल ल्याउन खुला गरेको हो । आगामी चैतदेखि भने सबैका लागि बिक्री गरिने छ । सेवाग्रहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा अबदेखि ल्याउन सक्ने निगमका प्रवक्ता गोइतले जानकारी दिए।

उनका अनुसार उच्च गुणस्तरको पेट्रोलको माग आउन थालेपछि आयात खुला गरिएको हो । नेपालमा युरो–६ मापदण्डका गाडी आयात भए पनि पेट्रोल भने युरो–४ कै बिक्री गरिएको छ ।

प्रवक्ता गोइतले भने, निगमले ठूलो परिणाममा खरिद गर्ने ग्राहकलाई खुला गरिदिएको हो तर अहिल्यै पेट्रोल पम्पले युरो–६ पेट्रोल ल्याएर बिक्री गर्न पाइँदैन तर छ महिनापछि भने सबैतिर युरो–६ नै बिक्री हुने निगमले जनाएको छ ।उनका अनुसार इन्डियन आयल कर्पोरेसनले आउदो अप्रिलदेखि युरो–६ भारतमा बिक्री सुरु गर्दै छ ।

नेपालले भारतबाटै खरिद गर्ने भएकाले नेपालमा पनि युरो–६ नै बिक्री हुने छ तर युरो–६ हालको भन्दा महँगो हुने छ । हालको भन्दा गुणस्तरीय भएकाले पैसा पनि अन्तर्‍ाष्ट्रिय मूल्यानुसारकै हुने छ ।

निगमका अनुसार युरो–६ पेट्रोलले गाडीको इफिसियन्सी बढाउनेसँगै वातावरण प्रदूषणसमेत कम हुने छ । पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भैरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ छ ।गोरखापत्र