नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

खेलकुद

काठमाडौं 

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ३२ रनमा चित्त बुझाउन बाध्य भयो।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्था थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपाली समर्थकहरुले जितको आशा गर्न थालेका थिए । तर, लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनलाई मार्क अडायरले क्याचआउट गराए । अर्का ओपनर इशान पान्डेले ३० बलमा २२ रन बनाए ।

त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो ।  आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए ।

नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा आउट भए।