ओमान टी–२० विश्वकपमा छनोट भए संगै विश्वकप खेल्ने १६ टिमको टुंगो

खेलकुद

एजेन्सी 

ओमान अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा जारी ग्लोबल छनोटको इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

दुबैइमा ओमानले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरम ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । हङकङका लागि स्कटले सर्वाधिक ४४ रन जोडेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै हारोण अर्सादले २० तथा केली क्रिस्टीले ११ रन बनाए । हङकङलाई सस्तैमा समेट्न ओमानका बिलाल खानले ४ विकेट लिए । फ्याज बुट र खवर अलीले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । खराब सुरुवात गरेको ओमानका लागि जितेन्दर सिंहले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निशम खुशीले अविजित २६ तथा अमिर खलिमले १७ रन बनाए । हङकङका नस्रुल रानाले २ विकेट लिए ।

ओमान ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने छैटौं तथा अन्तिम टिम बनेको छ । यसाघि स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाएका थिए ।

युएई सम्पन्न छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाएसँगै अर्को वर्ष हुने विश्वकपमा सहभागी १६ टिमको टुंगो लागेको छ । ती टिममा भारत, पाकिस्तान, इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इंडिज, न्यूजिल्याण्ड, अफगानिस्तान, बंगलादेश, श्रीलंका, स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड, पपुवा न्यु गिनी र ओमान रहेका छन्।