एमसीसी विरुद्धको तीन दिवसीय खेलमा नेपालको २०८ रनको फराकिलो हार

खेलकुद

काठमाडौं

मेरिलेबोन क्रिकेट क्लब विरुद्धको तीन दिवसीय खेलमा नेपाल २ सय ८ रनको भारी अन्तरको हार बेहोरेको छ । ३ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिंग्स ४१ ओभरमा मात्र १ सय ८४ रनमा समेटिएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । करण केसी १८ रन बनाए । सोमपालले करण केसीसँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गरे भने नवौं विकेटका लागि सोमपालले सन्दीप लामिछानेसित अद्र्धशतकीय साझेदारी गरे।राजु रिजाल पाँच चौकासहित ३१ रनको योगदान दिए ।नेपालको दुबै पारीमा ओपनर र मध्यक्रमका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले आफ्नो पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो । उसको लागि मायल्स हयामोन्डले ५२, विलियम भेन्डरस्पारले ५३, यासिर अराफातले सर्वाधिक ६५ रनको योगदान दिए ।नेपालका लागि सोमपाल कामीले दुई, करण केसीले तीन, सन्दीप लामिछानेले तीन तथा शरद भेषवाकरले दुई विकेट लिए  ।

जवाबमा नेपाल मात्र १ सय ५३ रनमा खुम्चिन पुग्यो । ३३ रनका पाँच विकेट गुमाएको नेपालका लागि विनोद भण्डारीले सोमपाल कामीसित छैठौं विकेटका लागि ७२ रनको साझेदारी गरेर इनिंग्स उकासेका थिए । भण्डारी ३६ तथा कामी २६ रन बनाएर । सन्दीप लामिछानेले उत्कृष्ट ३९ रन बनाएर नेपाललाई सहज योगफलसम्म पुर्याएका थिए।

पहिलो इनिंग्समा २११ रनको अग्रता लिएको एमसीसीले आफ्नो दोस्रो इनिंग्समा छ विकेटको क्षतिमा १८१ रन बनाएर नेपाल समक्ष ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।