इरानमा पेट्रोल मूल्यवृद्धिको विरोध चर्किएपछि प्रदर्शनकारीलाई कारबाही गर्ने सरकारको चेतावनी

अन्तर्राष्ट्रिय

बीबीसी

इरानका गृहमन्त्रीले पेट्रोलको मूल्यवृद्धिको विरोध गर्न सडकमा भेला भएका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले थप कारबाही गर्ने चेतावनी दिएका छन्।

इरान सरकारले अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि नयाँ नीति घोषणा गरेपछि देशभरि चर्को विरोध भएको छ। देशका विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भैरहेका छन्। सुरक्षाकर्मीहरूसँग भिडन्त हुँदा कम्तीमा एक जनाको मृत्यु र केही प्रदर्शनकारीहरू घाइते भएका छन्।

अहिलेसम्म दीँदै आएको अनुदान हटाई ५० प्रतिशतजति मूल्य बढाउँदा विपन्न जनतालाई आर्थिक सहयोग गर्न रकम उपलब्ध हुने सरकारी अधिकारीहरूको भनाइ छ। अमेरिकाले सन् २०१५ मा परमाणु सम्झौताबाट अलग्गिएपछि लगाएको नाकाबन्दीका कारण इरानले चरम आर्थिक सङ्कट खेप्नुपरेको छ।

शुक्रवार मूल्यवृद्धिको घोषणा भएको केही घण्टापछि प्रदर्शनहरू सुरु भएका थिए। केही सहरमा शनिवार पनि विरोध भयो। सरकारबाट इन्टरनेट प्रयोगमा नियन्त्रण भएको हुन सक्ने विवरणहरू प्राप्त भएको समाचार रोएटर्सले एउटा इन्टरनेट पर्यवेक्षण गर्ने समूहलाई उद्धृत गर्दै प्रकाशित गरेको छ।“गैरकानुनी” गतिविधि भैराखे शान्ति कायम गर्न राज्यका निकायहरूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। उनले केही सीमित व्यक्तिले सर्वसाधारणको भावनाको दुरुपयोग गरी डर र आतङ्क सिर्जना गरेको आरोप लगाए।

सिर्जन नगरमा भएको प्रदर्शनका क्रममा शुक्रवार कम्तीमा एक जनाको मृत्यु भएको धिकारीहरूले पुष्टि गरेका छन्। इरानी समाचारसंस्था इर्नाका अनुसार प्रदर्शनकारीहरूले एुटा इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आगो लगाउने प्रयास गर्दा प्रहरीसँग भिडन्त भएको थियो। शनिवार अरू सहरमा पनि प्रदर्शनहरू भए।

सामाजिक सञ्जालमा प्रेषित भिडिओले शनिवार अरू प्रदर्शनकारीहरूको पनि मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ। सामाजिक सञ्जालमा भिडिओ राख्ने मानिसहरूलाई कानुनी कारबाही गर्ने चेतावनी सरकारी अधिकारीहरूले दिएको अर्धसरकारी समाचारसंस्था इस्नाले जनाएको छ।

गृह मन्त्रालयको आपत्कालीन सुरक्षा केन्द्रले प्रकाशित गरेको एउटा विज्ञप्तिमा केही प्रयोगकर्ताहरूले अफवाह र असत्य जानकारी फैलाएको उल्लेख छ। राष्ट्रिय सुरक्षालाई भङ्ग गर्ने र सर्वसाधारणलाई प्रभावित पार्ने उद्देश्यले पुराना घटनाहरूको भिडिओ अहिले सामाजिक सञ्जालमा फैलाइेको दाबी सरकारी पक्षको छ।

सडकमा चालकहरूले इन्जिन बन्द गरेर वा सवारीसाधनहरू त्यत्तिकै छोडेर विरोध गरेको विवरणहरू प्राप्त भएका छन्। इन्टरनेटमा प्रकाशित भिडिओमा चालकहरूले राजधानी तेहरानस्थित राजमार्गमा सवारीसाधन रोकेर नाराबाजी गर्दै प्रहरीहरूलाई आफूलाई समर्थन गर्न आग्रह गरेको देखिन्छ।

एउटा भिडिओमा हिउँ परेको तेहरान-काराज मार्गमा प्रदर्शनकारीहरूले अवरोध गरेको देखिन्छ। केही भिडिओमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको र केही स्थानमा ब्याङ्कमा आगो लगाइेको दृश्य देखिन्छ। दक्षिणी इरानको शिराज सहरमा एउटा प्रहरी चौकीमा आगो लागे जस्तो देखिने भिडिओ पनि सामाजिक सञ्जालमा आएको छ।

इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीले “इस्लामिक पद्धति” को विरोध गर्ने र विदेशबाट परिचालित व्यक्तिले अशान्ति मच्चाएको आरोप लगाउँदै उनीहरूबाट टाढा बस्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

नयाँ नीतिअनुसार एउटा सवारीसाधनका लागि एक महिनामा प्रतिलिटर १५,००० रियाल (झन्डै ५१।६१ रुपैयाँ) तिरेर केवल ६० लिटर पेट्रोल किन्न पाइनेछ। त्यो परिमाणभन्दा बढी पेट्रोल किन्दा प्रतिलिटिर ३०,०००० रियाल तिर्नुपर्नेछ। पहिला चालकहरूलाई प्रतिलिटर १०,००० रियाल मूल्यमा २५० लिटर पेट्रोल किन्न दीने गरेको समाचारसंस्था एपीले जनाएको छ।

अनुदान हटाएर गरिएको मूल्यवृद्धिबाट सङ्कलित राजस्व निम्न आय भएका परिवारलाई उपलब्ध गराइने सरकारले जनाएको छ। इरान सरकारको योजना तथा बजेट हेर्ने निकायका प्रमुखले यो महिना एक करोड ८० लाख परिवारलाई थप आर्थिक राहत उपलब्ध गराइने योजना भएको बताएका छन्। नयाँ नीतिबाट प्रतिवर्ष ३,००० खर्ब रियाल सङ्कलन गरिने उनले राज्यद्वारा सञ्चालित टेलिभिजनलाई बताए।

राष्ट्रपति हसन रूहानीले शनिवार ७५ प्रतिशत इरानीहरू अहिले “दबावमा परेका छन्” भन्दै पेट्रोलको मूल्यवृद्धिबाट सङ्कलित थप राजस्व राज्यकोषमा नभएर ती जनतामा जाने बताएका छन्।