एक इन्च नेपाली भूमि पनि मिचिन दिन्नौँ, कालापानीबाट विदेशी फौज हटाउँछौं : प्रधानमन्त्री

समाचार

काठमान्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिबाट छिमेकीहरूलाई आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन्। यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै उनले नेपाली भूमिबाट विदेशी सेना फेर्ता हुनुपर्ने बताएका हुन्।

आईतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसँग तनाव नहोस् भन्ने चाहेको बताए।

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा भारतीय सिमानाभित्र देखाएपछि नेपालले त्यसको विरोध गरेको छ। गत हप्ता ओलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा कालापानीको विषयमा छलफल भएको थियो।

आईतवार काठमाण्डूमा आयोजित कार्यक्रममा बोल्दै उनले कालापानीको विषय संवादको माध्यमबाट समाधान गरिने आशय व्यक्त गरे। अहिलेको सरकार नेपाली जनताले चुनेको देशभक्त सरकार रहेको बताउँदै उनले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने बताए।

“सरकारले संवादको माध्यमबाट यो सीमासम्बन्धी समस्या समाधान गर्छ। हाम्रो भूमिबाट विदेशी फौज फिर्ता गराउँछ। हाम्रो भूमिको रक्षा गर्छ,” उनले भने।