दर्शनार्थी बोकेको पिकाप दुर्घटना, दुईको मृत्यु, १६ घाइते

समाचार

जलेश्वर

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकाप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकाप गढन्ता चोकमा अनियन्त्रित भैइ सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो ।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइेको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भैरहको छ ।