पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द

अन्तर्राष्ट्रिय

बीबीसी

पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्‍अफलाई सुनाइेको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो।मुशर्‍अफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए।

सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्‍अफविरुद्धको सजाय उल्ट्याइदिएको हो। सन् १९९९ मा भएको ‘कु’मा उनले सत्ता हत्याएका थिए र सन् २००१ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए। अदालतको आजको निर्णयको अर्थ अब जनरल मुशर्‍अफ “स्वतन्त्र मानिस” भएको एकजना अभियोजनकर्ताले बताएका छन्।

यद्यपि बीबीसी उर्दूका अनुसार उक्त मुद्दाको सुनुवाइ अर्को अदालतमा पनि हुनसक्छ। देशद्रोहको यो अभियोग सन् २०१३ यता चलिरहेको छ।यो सन् २००७ मा मुशर्‍अफले गरेको संविधानको निलम्बनसँग जोडिन्छ जतिबेला उनले आफ्नो कार्यकाल लम्ब्याउने आशयले सङ्कटकाल घोषणा गरेका थिए। मुशर्‍अफलाई पाकिस्तान छोड्न सन् २०१६ मा अनुमति दीएको थियो र अहिले उनी दुबैमा छन्।