टुँडिखेलमा आजदेखि पार्किङ बन्द

समाचार

काठमाडौँ

राजधानीको टुँडिखेलमा माघ १ गतेदेखि पार्किङ गर्न नपाइने भएकोछ । काठमाडौँ महानगरपालिका वडा २८ का अध्यक्ष भाइराम खड्गीले भने, “काठमाडौँको केन्द्र भागमा रहेको टुँडिखेल सम्पदा समेत हो । यसको संरक्षणमा अभियन्ताहरूको आग्रहानुसार साथ दिएको हुँ ।”

दुई दशकाघिसम्म राजनीतिक, सांस्कृतिक, सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको टुँडिखेल (खुलामञ्च) अनधिकृत अतिक्रमणको चपेटामा परेपछि यो कदम चालिएको हो ।

बसपार्क, फुटपाथ ब्यापार र पार्किङले यतिबेला खुलामञ्चले सौन्दर्य गुमाएको छ । मानव अतिक्रमणमा परेको टुँडिखेलको स्वतन्त्रताका लागि नागरिकस्तरमा अभियानको थालनी भएको छ ।

‘‘अकुपाई टुँडिखेल’’ भन्दै कात्तिक २३ गते विशाल मानव साङ्गलोले टुँडिखेल घेरा हालेको थियो । सो अभियानमा कलाकार, राजनीतिज्ञदेखि जनप्रतिधिसमेतले साथ दिएका छन् । हरेक शनिबार जनचेतनामूलक गतिविधि गर्दै आएका अभियन्ताहरूलाई साथ दिँदै काठमाडौँ महानगरपालिका वडा नम्बर २८ ले माघ १ गतेदेखि टुँडिखेलमा पार्किङ निषेधभन्दै ब्यानर टाँगेको छ ।

जनतादेखि जनप्रतिनिधिसम्म अभियानसमेत अभियन्ताले सञ्चालन गरेका छन् । टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्युटावर निर्माण सामग्री थुप्रिएका छन् ।

अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठका अनुसार, त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म फैलिएको टुँडिखेलमा स्थायी रूपमै १३ स्थान मिचिएका छन् ।उनले टुँडिखेलको ऐतिहासिक र राजनीतिक पृष्ठभूमि मात्र नभएर सांस्कृतिक पर्व, जात्रा र सम्पदासँग समेत गाँसिएको विषय भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *