अमेरिकी दूतावास द्वारा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धन नभएको जानकारी

समाचार
  • 6
    Shares

बर्तमान समयमा एमसीसी लाई लीएर जनस्तरमै पक्षविपक्षमा व्यापक तर्क उठेपछि काठमाडौंस्थित दूतावासले शुक्रबार दसबुँदे विज्ञप्ति जारी गरेर एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको बताएको हो ।अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धन नभएको जनाएको छ ।
दूतावासले अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको दाबी गरेको छ ।

उसले एमसीसीलाई ‘विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित’ भनेको छ । ‘नेपालमा विद्युत‌् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासमा सघाउने एमसीसी परियोजनाको लक्ष्य छ,’ विज्ञप्तिमा भनिएको छ । सत्तारूढ नेकपाभित्रै एमसीसी ‘चीनविरुद्ध लक्षित’ इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले उसँग भएको परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने आवाज उठ्न थालेपछि अमेरिकी दूतावासले विज्ञप्तिमार्फत प्रस्टीकरण सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गरिएको छ, जसलाई यही हिउँदे अधिवेशनमा पारित गराउने सरकारको तयारी छ ।

दूतावासले एमसीसीका सम्बन्धमा उठेका प्रश्नहरूबारे आफू जानकार भएको उल्लेख गरेको छ । ‘हालै नेपाली नागरिक, नेतृत्व र सञ्‍चारकर्मीले एमसीसीको नेपाल कम्प्याक्ट (सम्झौता) बारे सोधिरहनुभएको छ । यस्ता प्रश्‍नलाई हामी स्वागत गर्छौं । यस कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभ छन् भन्नेसम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका रूपमा एमसीसी स्थापना भएको हो ।’

एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुपर्ने प्रावधानमाथि समेत आलोचना भइरहेको छ । यस सम्बन्धमा दूतावासले भनेको छ, ‘एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीलाई परियोजनाबारे बुझ्ने अवसर पनि प्राप्‍त हुन्छ ।’ एमसीसी परियोजनाको कुनै अदृश्य स्वार्थ नभएको दूतावासले जनाएको छ । ‘यो ५० करोड डलरको अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन वा कुनै लुकेको प्रावधान छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले गर्नॅपर्ने भनेको सहमति भइसकेका परियोजनामा पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।’ अमेरिकी दूतावासले एमसीसीमा सहभागी हुन नेपालले कतै पनि सम्मिलित हुनु वा हस्ताक्षर गर्नॅ नपर्ने पनि जनाएको छ ।

नेपालका हरेक सरकार र सत्तामा छँदा राजनीतिक दलले विगतमा आर्थिक विकासका लागि एमसीसी कम्प्याक्ट गर्ने इच्छा व्यक्त गरेको उल्लेख गर्दै दूतावासले भनेको छ, ‘नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी परियोजना विकास गर्ने कार्य थालनी भएको हो ।’ एमसीसीले नेपालमा कुन परियोजनामा खर्च गर्ने भन्ने विषय आफ्नै प्राथमिकताका आधारमा नेपालीले नै प्रस्ताव र निर्क्योल गरेको दूतावासले जनाएको छ ।’

एमसीसी परियोजनामा नेपालीलाई नेतृत्व गर्न नदिने प्रावधान रहेको भनी उठेको टिप्पणीमा दूतावासले भनेको छ, ‘एमसीसी सम्झौताको प्रावधानअनुसार परियोजना कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै लगाउनु आवश्यक छ ।’ एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी र सबैका लागि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । एमसीसीबारे जिज्ञासा भए ‘एमसीसी डट जीओभी’ मा गई सबै जानकारी लिन वा आफ्नो सूचना अधिकृत एड्रिया डी आरमेन्टसँग सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *