आज श्रीपञ्चमी मनाईदै

धर्म दर्शन समाचार
  • 454
    Shares

काठमाडौँ

माघ शुक्ल पञ्चमीका दिन बिहीबार विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । फागुन र माघ महिना शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

‘‘यो पटक बिहीबारका दिन यो पर्व परेकाले ज्योतिषशास्त्रमा बिहीबार वृहस्पतिको हुँदा वृहस्पतिलाई ज्ञान सीप शिक्षाको सुरुआत गर्दा राम्रो हुने ग्रह योग मानिएकाले यो दिनको सीप सिकाइले राम्रो फल दिन्छ’’, ज्योतिषी डा. सुनिल सिटौला बताउन्छन ।

बिहीबार बिहान १०ः५२ बजेसम्म पञ्चमी परेकाले यो समयभित्र सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गर्न शुभ हुने डा. सिटौला बताउन्छन ।

यो समयमा विवाह, व्रतबन्ध, बेलविवाह, नवगृह प्रवेश, घरको भूमि पूजालगायतका शुभकार्य गर्दा साइत पर्खन पर्दैन । सरस्वती पूजासहित यो दिन कामरतिको पनि पूजा गर्ने प्रचलन छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधान तोकिएको छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आअफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् ।

यसैगरी तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । सरस्वतीलाई चढाइेको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भैइ विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

ललितपुर लेलेको सरस्वती कुण्ड, काठमाडौँ विशालनगरको नील सरस्वती, मैतीदेवीस्थित सरस्वती, खलङ्गा प्यूठानको सरस्वती मन्दिर, घट्टेचौर पालुङ मकवानपुरको सरस्वती, सूर्यपूरा रुपन्देहीको सरस्वती र सल्लेरीको सरस्वती मन्दिरमा यो दिन मेला लाग्छ ।


  • 454
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *